२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देवघाटमा तीर्थालुको घुइँचो, गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था

देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १७१
  • नवलपरासी, माघ १ - हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ। तीर्थालुको सुविधाका लागि नवलपरासीको गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ।

    गैँडाकोट वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार कालीगण्डकी नदीको केलादीघाटबाट देवघाटको बेनीसम्म जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गा उपलब्ध गराइएको हो। नवलपुरतर्फबाट सहज र छिटो रूपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम पुग्न सकिने उनले बताए।

    चितवनतर्फबाट देवघाट जान असहज यात्रा हुने भए पनि नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न सकिने वडाध्यक्ष तिवारीले बताए। गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै केलादीघाट पुग्ने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ।

    वडाध्यक्ष तिवारीले माघे सङ्क्रान्तिको दिन नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाट पुग्न कठिनाई हुने भएकाले केलादीघाटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको बताए। उनका अनुसार नवलपुर र पश्चिमतर्फबाट आउने तीर्थालुलाई गैँडाकोटको केलादीघाट हुँदै देवघाट पुग्दा यात्रा सहज र छोटो हुने छ।

    गैँडाकोट वडा कार्यालयले डुङ्गा सञ्चालकसँग सम्झौता गरी तीर्थालुको सुविधाका लागि कुनै पनि शुल्क नलिई निःशुल्क सेवा उपलब्ध गराएको छ। कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्दछन्।