८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कञ्चनपुरमा मृत भेटिएका कांग्रेस नेता अच्युत कलौनीको अन्त्येष्टि

कलौनीले बोकेको मोबाइल फोन अझै फेला परेको छैन, जसले हत्या भएको सम्भावना बढाएको परिवारको दाबी छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १००
  • धनगढी, माघ २० - नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनीको अन्त्येष्टि आइतबार महाकाली आर्यघाटमा गरिएको छ।

    शनिबार बिहान भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिक मृत अवस्थामा फेला परेका कलौनीको अन्तिम संस्कार गर्नु अघि उनको पार्थिव शरीर नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो। गृहमन्त्री रमेश लेखक सहितका कांग्रेस नेताहरूले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।

    कलौनीको शव परीक्षण भेरी प्रादेशिक अस्पतालका विशेषज्ञ चिकित्सक टोलीले महाकाली प्रादेशिक अस्पतालमा गरे पनि रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार उनको शरीरमा बाहिरी घाउ वा चोटपटक देखिएको छैन। शव परीक्षणको रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने विश्वास गरिएको छ।

    प्रहरीले घटनास्थल नजिकको सीसीटीभी फुटेज विश्लेषण गर्दा शुक्रबार राति करिब ९:३० बजे कलौनी एक्लै सडकमा हिंडिरहेको देखिएको जनाएको छ। तर, शव भेटिएको स्थानमा भने क्यामेराको पहुँच नभएकाले के भयो भन्ने यकिन गर्न नसकिएको प्रहरीको भनाइ छ।

    परिवारका अनुसार कलौनी धनगढी जाने भन्दै शुक्रबार घरबाट निस्किएका थिए। उनी धनगढीबाट फर्केर महेन्द्रनगर पुगेपछि साँझ मदन चोकमा साथीहरूसँग छुट्टिएका थिए। प्रहरीका अनुसार त्यसपछि उनले पेट र छाती दुखेको भन्दै महाकाली प्रादेशिक अस्पतालमा गएर औषधि लिएका थिए। उनको खल्तीमा ग्यास्ट्रिकको ट्याबलेट फेला परेको छ।

    कलौनीको परिवारले उनको हत्या भएको आशंका गरे पनि प्रहरीले हालसम्म मृत्युको कारण स्पष्ट नभएको जनाएको छ। कलौनीले बोकेको मोबाइल फोन अझै फेला परेको छैन, जसले हत्या भएको सम्भावना बढाएको परिवारको दाबी छ।

    यस घटनाबारे विस्तृत अनुसन्धान गर्न भिसेरा परीक्षणका लागि नमुना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने भएको छ। साथै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले पनि अनुसन्धान अघि बढाएको छ।