काठमाडौं, फागुन ११ – गोरखा-काठमाण्डौ समाजवादी सम्पर्क मञ्चको प्रथम भेला शनिबार काठमाडौंको बालाजुस्थित स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा सम्पन्न भएको छ। भेलाले राजकुमार श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय समिति चयन गर्दै औपचारिक रूपमा मञ्चको गठन गरेको छ।
भेलाबाट निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष राजकुमार सी, उपाध्यक्ष पदम सी र काजीराम सी, सचिव राजेन्द्र रम्तेल, सहसचिव राज सी तथा कोषाध्यक्ष अञ्जली सी रहेका छन्। २७ सदस्यीय समिति विभिन्न पेशा व्यवसायमा आबद्ध गोरखालीहरूमाझ समाजवादी अभियानलाई अघि बढाउने उद्देश्यले गठन गरिएको हो।
भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सी रहेकी थिइन्। त्यस्तै, नेकपा गोरखाका इन्चार्ज कलिप सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मजदुरका फ्याक्सन इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य जिवन्त सी, वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल, सम्पर्क मञ्चका केन्द्रीय महासचिव सुशील सी, मजदुरका अध्यक्ष टेक सी लगायतका नेताहरूको आतिथ्यता रहेको थियो।
गोरखाका जुझारु युवा नेता अनोज सीले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरूले नवगठित समितिलाई शुभकामना व्यक्त गर्दै स्थायी घर गोरखा भई काठमाण्डौलाई कर्मथलो बनाएका विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरूलाई समाजवादी अभियानमा एकजुट गर्ने लक्ष्य महत्वपूर्ण हुने धारणा राखेका थिय।
भेलामा गोरखाका विभिन्न पेशा व्यवसायमा संलग्न गोरखालीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। नवनिर्वाचित पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूलाई नेकपाकी स्थायी समिति सदस्य शिलु सी, गोरखा इन्चार्ज कपिल सी लगायतका नेताहरूले अबिर र खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिय।


प्रतिक्रिया दिनुहोस