२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजावादीको सक्रियताप्रति समाजवादी मोर्चाले परिस्थिति जटिल भएको निष्कर्ष

समाजवादी मोर्चाले राजसंस्था पक्षधरहरूको सक्रियतालाई ‘गम्भीर’ भन्दै परिस्थितिलाई जटिल बनाउने प्रयास भइरहेको बताएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १७९
  • काठमाडौं, चैत्र १ – समाजवादी मोर्चाले राजसंस्थाको पुनःस्थापनाका पक्षधरहरुको सक्रियतालाई ‘गम्भीर’ भन्दै परिस्थितिलाई जटिल बनाउने प्रयास भइरहेको निष्कर्ष निकालेको छ। मोर्चाले यसको जवाफस्वरूप चैत १५ गते काठमाडौंमा ‘भव्य’ प्रदर्शन गर्ने निर्णय गरेको छ।

    गत फागुन २५ गते राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था समर्थक समूहले काठमाडौंमा ठूलो प्रदर्शन गरेपछि गणतन्त्र पक्षधर समाजवादी मोर्चाले पनि प्रदर्शनको तयारी थालेको हो।

    आज बिहान बसेको मोर्चाको बैठकले राजसंस्थाको पक्षधरहरुको गतिविधि र आगामी रणनीतिबारे छलफल गरेको थियो। बैठकपछि नेकपा (विप्लव)का नेता खड्कबहादुर विश्वकर्माले पत्रकारहरुसँग कुरा गर्दै भने, "परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ र जटिल बनाउने कसरतहरू भइरहेका छन्।"

    मोर्चाले गणतन्त्रको पक्षमा बुद्धिजीवी तथा नागरिक समाजसँग छलफल गर्न शनिबार बिहान ११ बजे ललितपुरको होटल हिमालयमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ। छलफलपछि पत्रकार सम्मेलनमार्फत चैत १५ को प्रदर्शनबारे जानकारी दिने बताइएको छ।

    राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा गर्नका लागि अन्य दलहरूसँग पनि छलफल गर्ने मोर्चाले जनाएको छ। मोर्चाका नेता विश्वकर्माका अनुसार चैत १५ गतेको प्रदर्शनलाई ‘भव्य’ बनाउन हजारौं जनताको सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको छ।