काठमाडौं, चैत्र २५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्राउलाई लिएर मानवअधिकार आयोग जाने तयारी गरेको छ। शुक्रबार साँझ प्रहरीले काठमाडौंको हात्तीगौंडास्थित लामिछानेको निवासमा पुगेर उनलाई पक्राउ गरेको थियो।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार, पक्राउका क्रममा न्यायिक प्रक्रिया तथा मानवअधिकारका आधारभूत सिद्धान्तको उल्लंघन भएको छ। उनले भनिन्, "अदालतले भनेपछि पक्राउ त गर्नुपर्छ, तर त्यसका लागि अपनाउनु पर्ने प्रक्रिया थियो। सभापति ज्यूले आफैँ सार्वजनिक रूपमा आत्मसमर्पणको तयारी रहेको बताएका थिए। तर, त्यसको बेवास्ता गर्दै बेडरुममै गएर धरपकड गरियो।"
उनका अनुसार प्रहरीले गैरकानुनी व्यवहार मात्र हैन, अपमानजनक र आपत्तिजनक शब्द प्रयोगसमेत गरेको थियो। यही आधारमा पार्टीले मानवअधिकार आयोग जाने निर्णय लिएको छ।
शुक्रबार साँझ तुलसीपुर उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। सोही आदेशअनुसार राति ८ बजे प्रहरी टोली लामिछानेको घर पुगेको थियो। त्यसबेला पक्राउ गर्न गएका डिएसपीले ‘अन्तिम इच्छा’ के छ भनेर प्रश्न गरेका थिए, जसले थप विवाद निम्त्याएको थियो।
लामिछानेलाई पक्राउ गरी रूपन्देही पठाइएको छ र उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर थुनामा पठाइनेछ। यससँगै रास्वपाले उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको तयारीसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस