काठमाडौं, चैत्र २५ - संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै राप्रपाले चैत २६ गते मंगलबार काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शन र सभाको तयारी पूरा भएको जनाएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। सभाअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिने र ती जुलुसहरु सभा स्थलमा परिणत हुने जानकारी दिइएको छ।
यसपटकको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको राप्रपाले जनाएको छ। यसअघि चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक बनेको थियो। दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा दुई जनाको मृत्यु हुनुका साथै अर्बौंको भौतिक क्षति भएको अनुमान गरिएको छ।
हिंसा भड्किएको घटनापछि राप्रपाले त्यसको दोष सरकारलाई दिएको थियो। तर प्रहरीले हिंसा भड्काएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतका नेताहरुलाई पक्राउ गरेको थियो।
राप्रपाको मंगलबारको सभालाई राजसंस्था पुनर्स्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले पनि समर्थन जनाएका छन्।
प्रतिक्रिया दिनुहोस