२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मोटरसाइकल किनेको केही घण्टामै दुर्घटनामा परी दाजु-भाइको मृत्यु

नवलपरासीको कावासोती नगरपालिका–१ लोकाहा जंगलमा मोटरसाइकल दुर्घटनामा परी एकै घरका दाजु-भाइको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १३८
  • बुटवल, वैशाख २८ — नवलपरासीको कावासोती नगरपालिका–१ लोकाहा जंगलमा मोटरसाइकल दुर्घटनामा परी एकै घरका दाजु-भाइको मृत्यु भएको छ

    शनिबार साँझ लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कावासोती नगरपालिका–११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय ईश्वरी दर्लामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

    स्थानीय जनप्रतिनिधि विष्णुवीर रानामगरका अनुसार दाजु सागरले भारतबाट बिदामा आएपछि स्थानीय एक होटलमा काम सुरु गरेका थिए। शनिबार बिहानै उनले भाइ ईश्वरीका लागि मोटरसाइकल किनिदिएका थिए। मोटरसाइकल किनेपछि बजार घुम्न गएका उनीहरू साँझ घर फर्किने क्रममा लोकाहा जंगलमा दुर्घटनामा परेका थिए।

    घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएको भए पनि अस्पतालमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

    दुर्घटनामा परेका दाजु सागर विगतमा भारतमा रोजगारी गर्दै आएका थिए। उनीहरूका बुवा करिब १० वर्षअघि नै बितिसकेका थिए भने आमाले नै उनीहरूलाई हुर्काएर पढाएकी थिइन्।

    आर्थिक अवस्था कमजोर भएका कारण सामुदायिक वन उपभोक्ता समितिको पहलमा स्थानीयको सहयोगमा केही समय अघि मात्र उनीहरूको दुईधुर जग्गामा घर निर्माण गरिएको थियो।