२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेकपाद्वारा बुढीगण्डकी आयोजना समितिलाई ज्ञापन पत्र, समान मुआब्जा वितरणको माग

नेकपाले आयोजना कार्यान्वयनमा देखिएको ढिलाइ, अन्योल र विभेदप्रति गम्भीर आपत्ति जनाउँदै जनताको हकहित सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको हो।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १४६
  • गोरखा, बैशाख ४ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी विभिन्न माग राख्दै आयोजनाको समितिलाई ज्ञापन पत्र बुझाएको छ।

    नेकपाले आयोजना कार्यान्वयनमा देखिएको ढिलाइ, अन्योल र विभेदप्रति गम्भीर आपत्ति जनाउँदै जनताको हकहित सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको हो।

    विसं २०६८ सालमा सुरु गरिएको १२०० मेगावाट क्षमताको यो आयोजना २०७२ सालमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भइसकेको थियो। सरकारले आयोजना २०८४/८५ भित्र सम्पन्न गर्ने लक्ष्य राखेपनि अहिलेसम्म निर्माण कार्य प्रारम्भ हुन नसकेको नेकपाको भनाइ छ।

    नेकपाले मुआब्जा वितरणमा पनि असमानता रहेको आरोप लगाएको छ। पार्टीका अनुसार धनी वर्गले उचित मुआब्जा पाएको भए पनि गरिब तथा विपन्न वर्ग भने अझै अन्योलमा परेका छन्। ज्ञापन पत्रमा सबैलाई समानरुपमा मुआब्जा वितरण गर्नुपर्ने, देखिएको समस्या तत्काल सम्बोधन गर्नुपर्ने र आयोजनाको कार्यान्वयन नहुने हो भने जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उल्लेख गरिएको छ।

    सरकारले वितरण गरिसकेको सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन पनि नेकपाले आग्रह गरेको छ। पार्टीले बुढीगण्डकी आयोजना रोकिएमा त्यसको प्रमुख जिम्मेवार तत्कालीन नेकपा माओवादी, नेपाली कांग्रेस र एमाले रहेको आरोपसमेत लगाएको छ।

    यता, सरकारले आगामी वर्षहरूमा आयोजनाको निर्माण सुरु गर्ने प्रतिबद्धता जनाए तापनि व्यवहारमा त्यसको कार्यान्वयन अझै प्रतीक्षारत छ। मुआब्जा वितरणको प्रक्रिया केही अघि बढेको भए पनि मुख्य निर्माण कार्य थालिएको छैन।

    स्थानीय जनता भने आयोजनाको भविष्यबारे स्पष्टता नआउँदा अन्योलमा परेका छन्।