२२ असार २०८२ आईतबार | 06 Jul 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सावित्रा भण्डारीको सम्मानमा लमजुङमा ‘साम्बा चोक’ नामकरण, ‘साम्बा स्तम्भ’ पनि अनावरण

साम्बाको सम्मानमा लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदीबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १६३
  • लमजुङ, जेठ ५ – नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानमा लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदीबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ।

    आज एक विशेष कार्यक्रमका बीच मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ‘साम्बा चोक’को उद्घाटन गरेका हुन्। सो अवसरमा सावित्रा भण्डारीको तस्वीर अंकित ‘साम्बा स्तम्भ’ पनि अनावरण गरिएको छ। स्तम्भ निर्माण सशस्त्र प्रहरी बलको पहलमा गरिएको हो।

    कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दी–९ का वडा अध्यक्ष हरिचन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

    सावित्रा भण्डारी हाल फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब ‘एना भान गेङगाङ्प’ मा आबद्ध छिन्। देश तथा विदेशमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी साम्बा भण्डारीको योगदानलाई सम्मान गर्दै ‘साम्बा चोक’को नामकरण गरिएको आयोजकहरूले बताएका छन्।

    कार्यक्रममा सावित्राका बुवा–आमालाई समेत सम्मान गरिएको थियो। आयोजकका अनुसार यो चोक भावी पुस्ताका लागि प्रेरणा हुने विश्वास लिएको छ।