२५ बैशाख २०८३ शुक्रबार | 08 May 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रिमियरमा ‘मालती मंगले’को चर्चा : रविले भने - 'रामकृष्णलाई आलोचनाले रोक्न सक्दैन'



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ३६
  • काठमाडौं, वैशाख २४ - शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म मालती मंगले को बुधबार साँझ काठमाडौंस्थित लबिम हलमा विशेष प्रिमियर गरिएको छ । कार्यक्रममा राजनीतिज्ञ, कलाकार, सञ्चारकर्मी तथा फिल्मकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    प्रिमियरपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले फिल्मको खुलेर प्रशंसा गरेका छन् । उनले फिल्ममा कमेडी र भावनात्मक पक्ष दुवै सशक्त रहेको उल्लेख गर्दै कलाकारहरूको अभिनय, संवाद तथा निर्देशन पक्ष प्रभावशाली लागेको बताए ।

    लामिछानेले निर्देशक प्रकु पाण्डे नयाँ भए पनि चलचित्र हेर्दा अनुभवी निर्देशकको कामजस्तो अनुभूति भएको प्रतिक्रिया दिए । उनले आफू फिल्म हेर्दा कहिले हाँसेको र कहिले भावुक बनेको अनुभव समेत सुनाए ।

    फिल्मका निर्माता रामकृष्ण ढकाल पछिल्लो समय सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा परिरहेका बेला रविले उनको पक्षमा खुलेर समर्थन जनाए । उनले सानो–तिनो आलोचनाबाट विचलित नहुन सुझाव दिँदै सांगीतिक क्षेत्रमा ढकालले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

    फिल्मको प्रिमियरमा कलाकार विजय बराल र वर्षा राउत को अभिनयको विशेष चर्चा भयो । दर्शक तथा अतिथिहरूले वर्षाले आफ्नो करिअरकै उत्कृष्ट अभिनय दिएको प्रतिक्रिया दिएका छन् । कमेडियन मेक्सम गौडेल को भूमिकाले पनि दर्शकको ध्यान खिचेको बताइएको छ ।

    मदनकृष्ण श्रेष्ठ, कृष्ण मल्ल, किरण केसी लगायतका कलाकारले पनि फिल्मप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा युनि इन्टरटेन्मेन्टको सहकार्य रहेको छ । फिल्ममा सागर ज्ञवाली कार्यकारी निर्माताका रूपमा रहेका छन् भने बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताका रूपमा आबद्ध छन् ।