काठमाडौं, जेठ ३ - काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल मा सहभागी हुन आइतबार फ्रान्स प्रस्थान गर्ने भएकी छन्। महानगरका अनुसार उनी बेलुका फ्रान्सतर्फ जाने कार्यक्रम रहेको छ।
महानगर प्रवक्ता नवीन मानन्धर ले डंगोल एक्लै फेस्टिभलमा सहभागी हुन जान लागेको जानकारी दिएका छन्। उनले त्यहाँ चार दिनसम्म विभिन्न कार्यक्रम अवलोकन गर्दै अन्तर्राष्ट्रिय फिल्म महोत्सव सञ्चालनको अनुभव साटासाट गर्ने बताइएको छ।
फेस्टिभलका क्रममा डंगोलले कान्स फिल्म फेस्टिभलका आयोजक तथा प्रमुख व्यक्तित्वहरूलाई काठमाडौं भ्रमणको निम्तो दिने कार्यक्रम पनि रहेको महानगरले जनाएको छ।
काठमाडौं महानगरपालिकाले निकट भविष्यमा आयोजना गर्ने तयारी गरेको ‘काठमाडौं फिल्म फेस्टिभल’ को पूर्वतयारीस्वरूप डंगोललाई कान्स पठाइएको प्रवक्ता मानन्धरले बताए। महानगरले विभिन्न टोल तथा समुदायस्तरमा समेत फिल्म महोत्सव आयोजना गर्ने योजना अघि बढाइरहेको छ।
यसअघि काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन शाह पनि कान्स फिल्म फेस्टिभलमा सहभागी भएका थिए। युनेस्कोले काठमाडौंलाई ‘फिल्म सिटी’ को रूपमा घोषणा गरिसकेको सन्दर्भमा महानगरले फिल्म तथा सिर्जनात्मक क्षेत्रलाई थप प्रवर्द्धन गर्ने तयारी गरेको छ।
फ्रान्समा जारी कान्स फिल्म फेस्टिभल मे २१ सम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस