८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गहना नकिनेको निहुँमा सुँगुरको खोरमा थुनेर यातना, ६ जना पक्राउ

गहना नकिनेको निहुँमा एक व्यक्तिलाई सुँगुरको खोरमा थुनेर कुटपिट गरिएको छ।



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या ७५
  • सर्लाही, जेठ ५ – सर्लाहीको पर्सा गाउँपालिका–५ हनुमान बजारमा गहना नकिनेको निहुँमा एक व्यक्तिलाई सुँगुरको खोरमा थुनेर कुटपिट गरिएको छ।

    ५२ वर्षीय तसलिम अन्सारीलाई स्थानीय सुन व्यवसायी राजेन्द्र साह सोनारले अपमानजनक तरिकाले खोरमा थुनेर दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    प्रहरीका अनुसार घटना जेठ ३ गतेको हो। अन्सारी आफ्नी छोरीको बिहेको तयारीमा थिए। बिहे जेठ ८ गते तय भएको थियो। यही अवसर पारेर सोनारले आफ्नो गहनाको व्यापार बढाउने प्रयास गरेका थिए।

    सोनार अन्सारीको घर पुगेर आफू अन्सारीका सम्धीको तर्फबाट आएको भन्दै गहना आफ्नै पसलबाट बनाउनु पर्ने आग्रह गरेका थिए। तर अन्सारीले आवश्यक गहना पहिले नै बनाइसकेको जवाफ दिएपछि उनी त्यहाँबाट फर्किएर सम्धीको घर पनि पुगेका थिए।

    तर त्यहाँ पनि गहना बनाइसकेको जवाफ पाएपछि दुबै पक्षबीच भ्रम सिर्जना भयो। पछि कुरो खुल्दै जाँदा दुबै पक्षले एकअर्कालाई मान्छे पठाएको थाहा पाएपछि विवाद भयो।

    डिएसपी सरोज राईका अनुसार विवाद झगडामा परिणत भयो। त्यसपछि सोनारले आफ्ना छोरा र केही सहयोगीलाई बोलाई अन्सारीलाई जबर्जस्ती सुँगुरको खोरमा थुनेर कुटपिट गरेका थिए।

    प्रहरी अनुसन्धानमा २७ वर्षीय पप्पु कुमार यादव, २४ वर्षीय राहुल कुमार महतो, २५ वर्षीय कमलेश कुमार साहसमेत संलग्न रहेको खुलेको छ।

    शनिबारसम्म पाँच जनालाई पक्राउ गरिएकोमा आइतबार थप एक जना – ६५ वर्षीय दिल महम्मद अन्सारीलाई पक्राउ गरिएको डिएसपी राईले जानकारी दिए।

    प्रहरीका अनुसार यो विवाद धर्ममा समेत जोडिएको छ। “मुस्लिम समुदायका व्यक्तिले हिन्दू समुदायका व्यक्तिमाथि दुर्व्यवहार गरेको भन्दै अन्सारीलाई अपमानजनक व्यवहार गरिएको देखिन्छ,” डिएसपी राईले भने।

    अहिलेसम्म राजेन्द्र साह, कमलेश, पप्पु, राहुलसहित ६ जनाविरुद्ध धर्मसम्बन्धी अपराध, अपमानजनक तथा अमानवीय व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। उनीहरूलाई ५ दिन म्याद थप गरी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।