२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिन्छ : कमल थापा

थापाले राष्ट्रिय सहमति भएमा पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन्।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १०५
  • काठमाडौं, जेठ १३ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भएमा पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन्।

    मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको छलफलमा अध्यक्ष थापाले जेठ १५ गते काठमाडौंमा राजावादी समूहले आयोजना गर्न लागेको कार्यक्रमको सन्दर्भमा बोल्दै पात्रभन्दा पनि राजसंस्था नै मुख्य रहेको स्पष्ट पारे। संविधानले राजनीतिक दलहरूको गतिविधिमा रोक लगाउन नपाउने भन्दै उनले आफूहरूलाई स्वतन्त्र रूपमा गतिविधि गर्ने अधिकार सुनिश्चित गरिनुपर्ने बताए।

    उनले भने, "हामीको आन्दोलन शान्तिपूर्ण हुनेछ। प्रशासनसँग कुनै भिडन्त गर्ने हाम्रो उद्देश्य छैन।"

    यसैबीच, राप्रपाका अर्का अध्यक्ष राजेन्द्र लिङ्देनले भने सरकारले उनीहरूको पूर्वघोषित कार्यक्रमलाई भड्काउन षड्यन्त्र गरिरहेको आरोप लगाए।

    "प्रधानमन्त्री स्वयंले प्रतिवाद गर्न निर्देशन दिएको सूचना छ," उनले भने, "सरकारको क्रियाकलाप मुठभेड निम्त्याउने खालको देखिन्छ।"

    लिङ्देनले कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण हुने दाबी गर्दै त्यसको व्यवस्थापनका लागि दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने जानकारी दिए।

    उनले भने, "यो आन्दोलन कुनै राजनीतिक स्वार्थका लागि होइन। नेपालजस्तो देशमा भोटको राजनीतिभन्दा माथि रहने अभिभावकीय संस्थाको रूपमा राजसंस्था आवश्यक छ।"

    दुवै नेताहरूले राजसंस्थाको पुनर्स्थापनाका लागि शान्तिपूर्ण र संवैधानिक मार्गबाट संघर्ष जारी रहने बताएका छन्।