२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बागमती नगरपालिकाका मेयर र उपमेयर मुछिएको भ्रष्टाचार प्रकरणमा साक्षीको बयान लिइने



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १११
  • काठमाडौं, जेठ १९ - सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयरसहित ६ जना मुछिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले साक्षीको बयान लिने आदेश दिएको छ।

    सोमबार विशेष अदालतका न्यायाधीश त्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले साक्षी प्रवीण रेग्मीलाई बयानका लागि बोलाउने आदेश दिएको हो। अदालतको आदेशबारे सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ साल चैत २८ गते मेयर थापा, उपमेयर मोक्तानसहित चार जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा र २०७९ साल जेठ २९ गते ६ जनाविरुद्ध भरत ताल निर्माणमा भएको भ्रष्टाचारको आरोपमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।

    यी दुई मुद्दामा आयोगले ३५ करोड ६२ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।

    यसबाहेक, उनीहरूविरुद्ध थप दुईवटा मुद्दा समेत दायर भएका छन्। जिल्ला अदालत सर्लाहीमा ४९ करोड ४९ लाख रुपैयाँको वनसम्बन्धी मुद्दा र विशेष अदालतमा ५६ करोड ७१ लाख रुपैयाँको भ्रष्टाचारसम्बन्धी थप मुद्दा दायर गरिएको छ।

    अख्तियारले यिनै आरोपमा अनुसन्धान जारी राख्दै अदालतमार्फत कानुनी प्रक्रिया अघि बढाइरहेको छ।