१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संसद अवरुद्ध हुँदा सभामुख असन्तुष्ट, उखान सुनाउँदै भने– ‘पछार्ने थिएँ तर खुट्टै टेक्नै दिएन’

संसद सञ्चालनमा अवरोध सिर्जना भइरहेको सन्दर्भमा सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १९९
  • काठमाडौं, जेठ २३ - संसद सञ्चालनमा अवरोध सिर्जना भइरहेको सन्दर्भमा सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन्।

    गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि सभामुख घिमिरेले संसद चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न नसकेको गुनासो गरे।

    शुक्रबार काठमाडौंमा आयोजित डिप्लोमा इन्जिनियर्स एसोसिएसनको कार्यक्रममा बोल्दै उनले संसद सञ्चालन नहुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे।

    उनले नेपाली उखान स्मरण गर्दै भने, ‘हाम्रो गाउँघरतिर एउटा उखान छ– म पछार्न त पछार्ने थिएँ, तर मलाई खुट्टै टेक्नै दिएन।’ यसमार्फत उनले संसद नचलेको अवस्थामा कानुन निर्माण प्रक्रिया प्रभावित भएको संकेत गरे।

    सभामुख घिमिरेले धेरै विधेयकहरू कानुनको रूपमा पारित गर्न प्रयासरत भए पनि संसद नचल्दा प्रक्रिया अवरुद्ध भएको बताए। ‘कानुन बनाउने र कार्यान्वयन गर्ने संस्थालाई जवाफदेही बनाउने सन्दर्भमा सबैजना जिम्मेवार बन्न आवश्यक छ,’ उनले भने।

    उनका अनुसार संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा विधेयक लगायतका महत्वपूर्ण विधेयकहरू संसद अवरोधका कारण अड्किएका छन्।

    ‘यो अड्किएको अवस्थालाई अन्त्य गर्न सबैले आ–आफ्नो भूमिकामा गम्भीर हुनु आवश्यक छ,’ सभामुख घिमिरेले भने।