१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रतिपक्षको असहयोगबीच संसद्‌ अघि बढाउने सत्तारूढ दलको तयारी

सत्तारूढ दलका सांसदहरूले प्रतिपक्षीको असहयोगका बाबजुद संसद्‌को कारबाही अघि बढाउने अडान व्यक्त गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १६०
  • काठमाडौं, जेठ २५ - संसद्‌मा जारी गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आइतबार बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन बनेको छ। बैठकपछि सत्तारूढ दलका सांसदहरूले प्रतिपक्षीको असहयोगका बाबजुद संसद्‌को कारबाही अघि बढाउने अडान व्यक्त गरेका छन्।

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीसँग कुरा गर्दै संसद्‌लाई अघि बढाउन प्रतिपक्षी सकारात्मक नरहेको बताए। "आजबाट संसद्‌ सञ्चालनमा आउँछ। अपोजिसनबाट कुनै निष्कर्ष र निर्णय आएका छैनन्," उनले भने, "उहाँहरूले सहयोग गरे राम्रोसँग सञ्चालनमा आउँछ, नत्र केही असहज त हुनेछ, तर संसद्‌ अघि बढ्छ।"

    त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि यसअघि जस्तो सूचना टाँस गरेर संसद्‌ स्थगित गर्ने पक्षमा आफूहरू नरहेको प्रस्ट पारे। "प्रमुख प्रतिपक्षी दलहरूले सहमतिको लागि अपिल गरेपछि हामीले बैठक स्थगित गर्दै आएका थियौँ। तर, आज भने हिजोको निरन्तरतामा बैठक स्थगित गरिँदैन," उनले भने।

    बर्तौलाले आजैबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भ हुने जानकारी पनि दिएका छन्।

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितको छलफलमा पनि आ–आफ्ना अडान कायमै रहेकाले सहमति जुट्न सकेको छैन।

    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि तोकिएको समयमा सुरु हुन सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लखनालमाथि छानबिन हुनुपर्ने विपक्षी दलहरूको अडानका कारण संसद्‌मा अवरोध जारी छ।

    निरन्तरको अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलसमेत प्रभावित हुँदै आएको छ।