पोखरा, जेठ २६ - पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव फेला परेको छ ।
स्थानीयले सोमबार बिहान सडकमा रगतसहित एक युवक मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुहार र शरीरमा चोट लागेको अवस्थामा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार घटनास्थलमा शवसँगै हथौडा समेत भेटिएको र शरीरमा प्रहार गरिएका चोटहरू रहेकाले हत्या भएको पुष्टि हुन्छ ।
"बीच सडकमा उत्तानो परेको शव हेर्दा हथौडा प्रहार गरेर हत्या गरिएको देखिन्छ," डिएसपी बस्नेतले भने, "घटनास्थलमा हथौडा भेटिएको छ तर मृतकको पहिचान खुल्ने कुनै पनि कागजात भेटिएको छैन ।"
प्रहरीका अनुसार बिहानै तालिमप्राप्त कुकुरमार्फत अनुसन्धान थालिएको भए पनि अहिलेसम्म घटना रहस्यमय देखिएको छ । मृतकको साथबाट कुनै परिचय खुल्ने कागजात नफेला पर्नु, स्थानीयले समेत नचिन्नु र घटना आसपास कसैलाई देखिएको नहुनुले अनुसन्धानमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई बिहान ५ बजे मानिस मरेको सूचनापछि टोली खटिएको थियो । साढे १/२ बजेसम्म हिँडडुल गर्नेहरुले शव नदेखेको बताएकाले घटना राति ४ देखि साढे ४ बजेको बीचमा भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटना राति नै भएको हुन सक्ने स्थानीयको आशंका रहेको छ । शवको पोष्टमार्टमपछि थप विवरण सार्वजनिक हुने र अनुसन्धानलाई गति मिल्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस