काठमाडौं, असार १६ - गृहमन्त्री सुधन गुरुङले होटल तथा रेष्टुरेन्टमा दूषित, अस्वच्छ वा गुणस्तरहीन खाना बिक्री तथा वितरण गर्ने व्यवसायीमाथि कडा कानुनी कारबाही गर्न निर्देशन दिएका छन्।
गृहमन्त्रीको निर्देशनसँगै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई बजार अनुगमन थप प्रभावकारी बनाउन, नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा प्रशासनिक जवाफदेहिता मजबुत बनाउन परिपत्र जारी गरेको छ।
मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न होटल तथा रेष्टुरेन्टमा खानाको गुणस्तर र सरसफाइ कमजोर रहेको भन्दै सर्वसाधारणबाट लगातार गुनासा प्राप्त भइरहेका छन्। त्यसैले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वा प्रचलित कानुन उल्लङ्घन गर्ने व्यवसायीलाई नियमित, सघन तथा आकस्मिक अनुगमनमार्फत कानुनअनुसार कारबाही गर्न निर्देशन दिइएको हो।
यस्तै, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत सेवा डेस्कसहितको गुनासो सुनुवाइ प्रणाली तत्काल सञ्चालनमा ल्याउन पनि मन्त्रालयले निर्देशन दिएको छ। नागरिकबाट प्राप्त हुने उजुरीलाई प्राथमिकताका साथ तत्काल सम्बोधन गर्न र स्थानीय तहमै समस्या समाधान गर्ने व्यवस्था मिलाउन जोड दिइएको छ।
मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रभावकारी सेवा प्रवाह, बजारमा विधिको शासन कायम गर्ने, उपभोक्ता अधिकारको संरक्षण गर्ने तथा प्रशासनप्रति नागरिकको विश्वास बढाउने उद्देश्यसहित निर्देशनको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस