२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कारागार चलान भएको दोस्रो दिनमै बन्दीको मृत्यु, आफन्तको छानबिन माग गर्दै आन्दोलन

कैलाली कारागार चलान भएको दुई दिनपछि एक जना बन्दीको शंकास्पद मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १४१
  • कैलाली, असार ४ – कैलाली कारागार चलान भएको दुई दिनपछि एक जना बन्दीको शंकास्पद मृत्यु भएको छ। मृतक डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय व्यवसायी हरिशसिंह पाली हुन्।

    बैंकिङ कसुर मुद्दामा पालीलाई जेठ २९ गते डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। उनलाई जेठ ३० गते कैलाली ल्याइएको थियो। अदालत शनिबार बन्द रहेकाले असार १ गते मात्र जिल्ला अदालत कैलालीमा उपस्थित गराई सोही दिन कारागार चलान गरिएको थियो।

    तर कारागारमा पुगेको दोस्रो दिन, असार २ गते राति पाली एक्कासि अस्वस्थ भएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएका थिए। राति सवा १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार पालीलाई कारागार भित्रै स्वास्थ्यकर्मीले जाँच गर्दा १०५ डिग्री ज्वरो र ६०/४० रक्तचाप देखिएको उल्लेख छ।

    पालीविरुद्ध जिल्ला अदालत कैलालीले २०८० फागुन २९ गते १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको थियो।

    तर, पालीको मृत्युपछि उनका आफन्तले घटनालाई शंकास्पद मानेर शव बुझ्न अस्वीकार गरेका छन्। उनीहरूले शवमा निलडाम तथा चोटपटक देखिएको दाबी गर्दै कारागारभित्र यातना दिइ हत्या गरिएको आरोप लगाएका छन्। साथै, सत्यतथ्य छानबिनको माग राख्दै डडेल्धुरामा बजार र राजमार्ग बन्द गरिएको छ।

    आफन्तले प्रहरी नायब निरीक्षक (सइ) हरिजित नाथमाथि समेत शंकास्पद व्यवहार गरेको आरोप लगाएका छन्। उनीहरूले नाथले पटक-पटक फोन गरी रकम मागेको र असार २ गते मात्रै ८५ हजार रुपैयाँ उनको खातामा पठाएको दाबी गरेका छन्।

    तर डिएसपी सिंहले भने नाथ फैसला कार्यान्वयनको प्रक्रियामा रहेको र फोन गरेको स्वीकारे पनि पैसा मागेको विषयमा जानकारी नभएको बताए।

    उद्योग वाणिज्य संघ डडेल्धुराका कार्यवाहक अध्यक्ष दीपकबहादुर महतराले पनि पालीलाई बाटोमै कुटपिट गर्दै पक्राउ गरिएको र चार दिनसम्म अदालतमा उपस्थित नगराई नियन्त्रणमा राखेर यातना दिएको आरोप लगाएका छन्।

    पाली न्यू महादेव कष्मेटिक एण्ड सप्लायर्सका सञ्चालक थिए।

    मृत्यु शंकास्पद भएको भन्दै अहिले पनि पालीको शव सेती अस्पतालको शव गृहमा राखिएको छ। प्रहरीले भने पोष्टमार्टम रिपोर्ट नआउन्जेल मृत्युको कारण खुलाउन नसकिने जनाएको छ।