२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बस्नेतको कटाक्ष : ‘रास्वपालाई नैतिकता सिकाउनुपर्छ, राजावादीको सम्पत्ति छानबिन हुनुपर्छ’



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ८९
  • काठमाडौं, असार ५ – नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकताको पाठ सिकाउनुपर्ने बताएका छन्। साथै, उनले राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा समेत राखेका छन्।

    बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै बस्नेतले रास्वपाले नेपाली कांग्रेसलाई नैतिकता सिकाउने प्रयास हास्यास्पद भएको टिप्पणी गरे। उनले भने, “तपाईंहरूको पार्टी सभापतिमाथि मुद्दा छ, जेलमा हुनुहुन्छ। जेलमा गएको व्यक्ति संसदीय दलको नेता बस्न मिल्छ, पार्टी सभापति छाड्न हुँदैन। अनि हामीलाई नैतिकताको पाठ पढाउने?”

    गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको रास्वपालाई उनले उल्टै प्रश्न गर्दै त्यसले देखाउने नैतिकता दोहोरो भएको दाबी गरे।

    बस्नेतले राजावादीहरुलाई समेत आलोचना गर्दै उनीहरूको सम्पत्तिको छानबिन गर्नुपर्ने माग गरे। “३०–४० वर्ष शासन गरेका पञ्च र राजावादी नेताहरूका महलहरू हेरौं। ती सम्पत्तिहरू कहाँबाट आए? अब छानबिन हुनुपर्छ,” उनले भने।

    उनले गणतन्त्र स्थापनामा कांग्रेसको योगदान स्मरण गराउँदै राजतन्त्र पुनःस्थापित हुन नसक्ने प्रस्ट पारे। “यो देश हामीले बनाएका हौं, गणतन्त्र हामीले ल्याएका हौं। राजा फर्कन सक्दैन। अब राजा त केवल चारवटा तासको पत्तामा मात्रै रहन्छ,” उनले कटाक्ष गरे।

    राजालाई विष्णुको अवतार भन्ने धारणा पनि उनले व्यंग्य गर्दै खारेज गरे। “यदि राजा विष्णुको अवतार थिए भने देशमा मूर्ति चोरी हुने थिएन, गजुर चोर्ने घटना हुने थिएन, कोकिन र ड्रग्सको कारोबार हुने थिएन,” उनले भने, “म पनि कट्टर हिन्दू हुँ, तर यस्तो काम गर्ने व्यक्ति कसरी विष्णुको अवतार हुन सक्छ?”