वीरगञ्ज, असार २२ – सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन्।
अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै उनलाई पक्राउ गर्नका लागि मधेस प्रदेश प्रहरी कार्यालयले विशेष टोली परिचालन गरेको छ। प्रहरीले यादवको खोजी तीव्र बनाएको छ भने प्रारम्भिक सूचनाअनुसार उनी भारततर्फ फरार भएको आशंका गरिएको छ।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले विभिन्न स्थानमा खानतलासी तथा सर्च अपरेशन चलाइएको जानकारी दिएका छन्। उनले भने, "हामी यादवको खोजीमा विशेष अभियान सञ्चालन गर्दैछौं, उनलाई चाँडै नियन्त्रणमा लिनेछौं।"
यादवविरुद्ध सार्वजनिक सेवामा बाधा पुर्याएको र उपद्रव गरेको अभियोगमा दुईवटा मुद्दा दर्ता गरिएकाले अदालतले पक्राउ अनुमति दिएको हो।
घटनाको पृष्ठभूमिमा बिहीबार राति यादव र एसपी खड्काबीच फोनमा भएको भनिएको गालीगलौजको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त अडियो सार्वजनिक भएपछि यादवविरुद्ध व्यापक आलोचना भएको छ।
मधेस प्रहरीका अनुसार जिल्ला प्रहरी प्रमुखलाई नै अपशब्द प्रयोग गरेको गम्भीर घटनालाई मध्यनजर गर्दै यादवलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको हो।
प्रहरीले उनलाई छिट्टै पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस