२२ असार २०८२ आईतबार | 06 Jul 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शेरबहादुरजीले धेरै हँसिया बनाए, तर घाँस काट्न सकेनन् : डा. चन्द्र भण्डारी



  • अञ्जना ढकाल
  • ९ घण्टा अघि
  • पाठक संख्या ४९
  • काठमाडौं, असार २२ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवामाथि कटाक्ष गर्दै "हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको" टिप्पणी गरेका छन्।

    आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै नेता भण्डारीले सभापति देउवाले पार्टीका धेरै सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गरे पनि त्यसको प्रतिफल काममा देखिन नसकेको बताएका हुन्।

    "देउवाजीले धेरैलाई पद बाँडे, तर ती पदधारीहरूबाट अपेक्षित काम हुन सकेन," उनले भने, "हँसिया धेरै बनाए तर घाँस काट्न सकिएन भन्ने कुरा यही हो।"

    भण्डारीले पार्टीको प्रशिक्षण प्रणालीमा सुधार आवश्यक रहेको भन्दै प्रशिक्षणका विषयवस्तु र प्रशिक्षकहरू परिवर्तन गर्नुपर्ने सुझाव दिए।

    त्यसैगरी पार्टीका भातृ संगठनहरूमा निर्वाचन नगरी मनोनयनमार्फत् पद बाँड्दा संगठनहरू निष्क्रिय बनेको जिकिर गर्दै उनले भने, “मिति आफैले बनाउने, तर कार्यक्रम अरूलाई चलाउन दिने, यस्तो गर्दा संगठनले काम गर्न सकेन।”

    भण्डारीले नेताबीच देखिएको विवाद सुल्झाउन पहल गर्नुपर्नेमा जोड दिँदै हाँसेर रमिता हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखे।

    उनले हालै ल्याइएको जलस्रोत नीति देशको गरिबी निवारणमा सहायक हुने भन्दै पार्टीले त्यसलाई संस्थागत रूपमा समर्थन गर्नुपर्ने बताए।

    आगामी निर्वाचनलाई असर नपर्ने गरी पार्टीको महाधिवेशन समयमै गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा उठेका आलोचनालाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।

    "हाम्रा स्थानीय सरकारदेखि केन्द्रसम्मका कामहरूको निर्मम समीक्षा गरी सुधार गर्न जरुरी छ," भण्डारीले भने।

    उनले पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिहरू पार्टीमा पुनः सक्रिय भएपछि राजनीतिप्रति वितृष्णा बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरे।

    निजामती विधेयक पारित हुँदा देखिएको त्रुटि कुनै एक व्यक्तिको नभई सबै सांसदहरूको सामूहिक जिम्मेवारी भएको तर्क गर्दै उनले सबैले त्यसको जिम्मेवारी लिनुपर्ने बताए।

    बैठकमा उनले विद्यालय शिक्षा विधेयक, युवाशक्ति पलायन, कृषकका लागि मल तथा बीउमा अनुदानको अभाव, रूपन्देही र मनाङमा हुने उपनिर्वाचनजस्ता विषयमा पनि धारणा राखेका थिए।

    पार्टीको केन्द्रीय समिति बैठक अघिल्लो सातादेखि चलिरहेको छ भने आइतबार पदाधिकारीहरूको जवाफी सम्बोधनपछि निर्णय सुनाउँदै बैठक समापन गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ।