काठमाडौं, असार ११- कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित बाबा चोकमा निर्माणाधीन ढल निकासको खाल्डोमा बच्चा खस्ने घटना सार्वजनिक भएपछि स्थानीय आक्रोशित भएका छन्। सामाजिक सञ्जालमा ती घटनाको भिडियो भाइरल भएपछि स्थानिय सरकार र ठेकेदारको लापरबाहीप्रति चर्को आलोचना भइरहेको छ।
भिडियोमा दुई बालक सडकमा हिँड्दै गर्दा एकजनाले खाल्डोमा खसेको देखिन्छ। खाल्डोमा जमेको पानीले गहिराइ देखिएन र बालक लडेर पानीमा डुब्छ। उनका साथीले उद्धारको प्रयास गर्दा पनि सफल नहुँदा एक स्थानीयले हस्तक्षेप गरी बालकलाई जोगाउँछन्। भाग्यवश बालकको ज्यान जोगियो।
तर घटनापछि सात दिन बित्दा पनि खाल्डो पुरिएको छैन। स्थानीयले पटक–पटक वडामा खबर गरे पनि कुनै पहल नभएको आरोप लगाएका छन्।
वडाध्यक्ष प्रकाश फुँयालले भने आफूहरूले ढिलो जानकारी पाएको दाबी गर्दै खाल्डोमा जम्मा पानी हटाइसकेको बताए। खाल्डो भने अझै नपुरिएको विषयमा उनले भने, “धेरै ठाउँमा काम भइरहेकाले विस्तारै हुन्छ। अब भोलिपर्सि मंगालको काम सकेपछि खाल्डो पुरौँला नि।”
उनले उल्टै घटनालाई सामान्यीकरण गर्दै भने, “भिडियोमै हेर्नु न, बच्चा स्वीमिङ गर्छु भन्दै जिस्किँदै गएको जस्तो देखिन्छ। वरपरका कसैले पनि त्यस्तो चासो देखाएको देखिन्न।”
पूर्वाधार विज्ञ आशिष गजुरेलले भने घटनालाई गम्भीर रूपमा लिँदै यस किसिमको लापरबाहीलाई "राज्यको अपराध" को संज्ञा दिएका छन्। “काम भइरहेका ठाउँमा ३००–४०० मिटर अगाडिबाट नै सूचना बोर्ड राखिनुपर्छ। रातिको समयमा रिफ्लेक्टिभ कोन वा हरियो पर्दा अनिवार्य हो। तर, यहाँ कुनै सावधानी देखिँदैन,” गजुरेलले भने।
उनले राजधानीका अन्य स्थानहरूमा पनि यस्तै लापरबाही दोहोरिइरहेको उदाहरण दिँदै चेतावनी दिए, “यस्ता लापरबाहीले भोलिका दिनमा ठूला दुर्घटनामा परिणत हुन सक्छ। नागरिकको ज्यान जोखिममा पार्ने काम आपराधिक हो।”
स्थानीय सरकारको यस्तो लापरबाहीप्रति आम नागरिकले सामाजिक सञ्जालमा कडा प्रतिक्रिया जनाएका छन्। 'राज्यले पासो थापेको’ टिप्पणीसहित स्थानीय तहको गैरजिम्मेवार व्यवहार र ठेकेदारको निष्क्रियतामाथि प्रश्न उठेको छ।
अब सम्बन्धित निकायले यस्ता संरचनागत लापरबाहीहरूप्रति समयमै ध्यान नदिने हो भने दुर्घटनाले गम्भीर रूप लिन सक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस