जनकपुरधाम, असार १२ -सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन्।
बुधबार राति सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगञ्जस्थित भित्री सडकखण्डमा जब्दीबाट लालबन्दी जाँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा निवासी दिनेश साहका २० वर्षीय छोरा सचिन साह (गुप्ता) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि टिपर चालक फरार भएको प्रहरीले जानकारी दिएको छ। घटनापछि आक्रोशित स्थानीयवासीले सो टिपरमा आगजनी गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस