काठमाडौं, असार १३ – काठमाडौं महानगरपालिकाको नयाँ आर्थिक वर्षको बजेट समयमा आउन नसक्नुको कारण मेयर बालेन्द्र साह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबीचको चिसिएको सम्बन्धलाई देखाइएको छ। दुबै जनाबीच प्रत्यक्ष भेटघाट नभएको ६ महिना नाघिसकेको छ।
महानगरमा कार्यरत कर्मचारीहरूका अनुसार बालेन र गुरागाइँबीच संवाद नभए पनि दुई दर्जनभन्दा बढी फाइल एकअर्कालाई तोक लगाएर पठाउने काम भने भइरहेको छ। फाइल आदानप्रदान भइरहे पनि दुबै पक्षबीच कुनै औपचारिक बैठक वा छलफल भएको छैन।
काठमाडौँ टावरको नक्सापास विवादपछि मेयर बालेनले गुरागाइँलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा स्वीकार नगरेपछि सम्बन्ध झन् चिसिएको बताइएको छ।
गुरागाइँ ८ पुसदेखि बिदामा बसेर २०८१ साल चैत २१ मा पुनः कार्यमा फर्किएका थिए। फर्किएपछि उनले चैत २९ मा मेयर बालेनलाई फाइल तोक लगाएर सिफारिस गरेका थिए। वैशाख २६ सम्म मात्रै उनले करिब १८ वटा फाइल स्वीकृतिका लागि मेयरसमक्ष पठाएका छन्। यस्तै, मेयर बालेनले पनि ‘प्रमुख प्रशासकीय अधिकृत’ भनेर उल्लेख गर्दै फाइल गुरागाइँलाई पठाउने गरेका छन्।
महानगरका एक उच्च अधिकारीका अनुसार, “कर्मचारीहरू फाइल बोकेर कहिले मेयर कहाँ, कहिले प्रशासकीय अधिकृत कहाँ धाइरहेका छन्। तर ती दुईबीच प्रत्यक्ष सम्पर्क भने छैन।”
यही विवादकै कारण काठमाडौं महानगरको बजेट अझै प्रस्तुत हुन सकेको छैन। यद्यपि, हरेक महिनाको नियमित भुक्तानीका लागि गुरागाइँले चेकमा हस्ताक्षर गर्दै आएका छन्।
कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले अनौपचारिक रूपमा बैठक राखी मेयरलाई कार्यपालिका बैठक बोलाउन आग्रह गर्दै आएका छन्। तर, मेयर बालेनले गुरागाइँसहितको बैठकमा सहभागी नहुने अडान लिइरहेका छन्।
देशको राजधानी काठमाडौंको महानगरपालिकामा यस्तो अवस्थाले बजेट कहिले आउने भन्ने अन्योल अझै कायम छ।
प्रतिक्रिया दिनुहोस