१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धनगढीमा झन्डै एक हजार घर डुबानमा, आठ जनाको सकुशल उद्धार

धनगढीमा निरन्तरको वर्षाका कारण झन्डै एक हजार घरधुरी डुबानमा परेका छन्।



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या २६५
  • धनगढी, असार १६ - सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा निरन्तरको वर्षाका कारण झन्डै एक हजार घरधुरी डुबानमा परेका छन्। डुबानमा फसेका आठ जनाको प्रहरीको सहयोगमा सकुशल उद्धार गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, धनगढी उपमहानगरपालिका–७ स्थित बेली गाउँका सिताराम रानाको एक तले कच्ची घरमा पानी पस्न थालेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकैको आफन्तको घरमा सारिएको हो।

    त्यसैगरी, धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनालाई उद्धार गरी स्थानीय नवज्योति आधारभूत विद्यालयमा सुरक्षित रूपमा राखिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।

    जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार, धनगढी उपमहानगरपालिका–१, २, ३, ४, ५, ७, ८ र १० नम्बर वडाका बासिन्दा वर्षाका कारण बढी प्रभावित भएका छन्।

    जोशीका अनुसार, करिब एक हजार घरमा पानी पसे पनि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको छ। आइतबार साँझदेखि लगातार वर्षा भइरहेको छ, र यदि वर्षा यस्तै रूपमा जारी रहेमा थप मानिस प्रभावित हुनसक्ने भन्दै आवश्यक तयारी भइरहेको प्रशासनले जनाएको छ।