काठमाडौँ, असार १७ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का साङ्घाइ को–अपरेशन अर्गनाइजेशन (एससिओ) को पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा सहभागी भई स्वदेश फर्किएका छन्। उनी असार ९ गते राति चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजित उक्त बैठकमा सहभागी हुन प्रस्थान गरेका थिए।
उक्त बैठकमा मन्त्री खड्काले नेपाल र चीनबीच ऊर्जा सहकार्यका विषयमा छलफल भएको जानकारी दिएका छन्। उनले आफ्नो चीन भ्रमणलाई उपलब्धिमूलक भएको दाबी गर्दै ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्यका सम्भावना रहेको बताए।
“ऊर्जा अब व्यापारको मात्र विषय होइन, यो दिगो विकास र साझा समृद्धिको आधार हो। नेपालले ऊर्जा क्षेत्रलाई एक प्रमुख विकास चालकका रूपमा अगाडि बढाउने योजना बनाएको छ,” मन्त्री खड्काले भने।
बैठकमा नेपालले ऊर्जा विकासको लक्ष्यबारे जानकारी गराउँदै ऊर्जा क्षेत्रलाई विकासको प्रमुख आधार बनाउने रणनीति प्रस्तुत गरेको थियो।
एससिओद्वारा आयोजना गरिएको बैठकमा चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य मुलुकका ऊर्जामन्त्रीहरू सहभागी थिए। त्यस्तै, तीन पर्यवेक्षक राष्ट्र र १४ संवाद साझेदार राष्ट्रका प्रतिनिधिको पनि उपस्थिति रहेको जनाइएको छ।
चीन भ्रमणका क्रममा मन्त्री खड्काले त्यहाँ रहेका नेपाली समुदायसँग समेत भेटघाट गरेका थिए।
प्रतिक्रिया दिनुहोस