२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आज देशभर ३० जिल्लामा बाढीको जोखिम

काठमाडौँसहित २५ जिल्लामा भने पहेँलो सतर्कता (Yellow Alert) जारी गरिएको छ।



  • अञ्जना ढकाल
  • ६ दिन अघि
  • पाठक संख्या ८५
  • काठमाडौं, असार १७ - जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज मङ्गलबार देशभर ३० जिल्लामा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। काठमाडौँसहित २५ जिल्लामा भने पहेँलो सतर्कता (Yellow Alert) जारी गरिएको छ।

    महाशाखाका अनुसार कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बहने केही साना नदीहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्छ।

    त्यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू—कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा पानीको सतह सतर्कता तहमुनि रहे पनि बढ्दो अवस्थामा रहेकाले नदी किनार क्षेत्रका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

    पहेँलो सतर्कतामा रहेका २५ जिल्ला

    दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, संखुवासभा, रसुवा, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, काभ्रे, मकवानपुर, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा मध्यम जोखिमको आकस्मिक बाढी आउने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन भनिएको छ।

    सामान्य जोखिम भएका जिल्ला

    त्यस्तै ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, र जाजरकोट आसपासका जिल्लामा पनि ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भन्दै सामान्य जोखिम रहेको र तटीय क्षेत्रमा सतर्क रहनुपर्ने महाशाखाले जनाएको छ।

    महाशाखाले पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार र खोल्सामा नजान, सतर्कता अपनाउन, र मौसम अपडेटमा ध्यान दिन सबैलाई आग्रह गरेको छ।