२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुलिङ पिरियडको शब्द चलखेल प्रकरणमा राप्रपाले माग्यो समिति सभापतिको राजीनामा

शाहीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।



  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ६०
  • काठमाडौँ, असार १७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।

    सिंहदरबारमा मङ्गलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले 'कुलिङ पिरियड' सम्बन्धी विधेयकमा शब्दको चलखेल भएको भन्दै सभापति खतिवडाले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताए। उनले समितिमा देखिएको चलखेललाई "जघन्य अपराध" भन्दै संसद्का अधिकारमाथि हस्तक्षेप भएको आरोप समेत लगाए।

    शाहीले यदि कर्मचारी तहबाट यस्तो हर्कत भएको हो भने उनीहरूलाई 'राज्यविरुद्धको कसुर' अन्तर्गत कारबाही गर्नुपर्ने बताएका छन्।

    विवादको विषय बनेको विधेयक फागुन २०८० मा संसदमा दर्ता भएको थियो। त्यसमा "संवैधानिक, कूटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने" व्यवस्था थियो।

    यस व्यवस्थाले संवैधानिक तथा राजनीतिक नियुक्तिमा अवरोध नहुने स्पष्ट भएको बताइएको थियो। तर समितिबाट विधेयक पारित हुँदा “सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक” भन्ने शब्द हटाइएको र प्रतिनिधिसभामा पेश गर्दा फेरि त्यही शब्द समावेश गरिएको देखिएपछि विवाद सुरु भएको हो।

    शाहीले विधेयकको संशोधित शब्दावलीप्रति आशंका जनाउँदै समितिका सभापतिले यो विषयमा जवाफ दिनुपर्ने माग गरेका छन्। राप्रपाले सभापति खतिवडालाई सो पदमा बसिरहन कुनै नैतिक अधिकार नरहेको ठहर गरेको छ।