काठमाडौं, असार १८ - राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सो विधेयक अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगलगायत विभिन्न शीर्षकका बजेटमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
त्यस्तै, सहरी विकास, सञ्चार, ऊर्जा, भौतिक पूर्वाधार, कृषि, रक्षा, अर्थ, शिक्षा, श्रम, युवा तथा खेलकुद मन्त्रालय सम्बन्धी बजेटमाथि उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिनेछन्।
बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक विधेयक, २०८२, राष्ट्र ऋण उठाउने विधेयक, २०८२ तथा भन्सार विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसैगरी, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश संसद्मा टेबुल गर्ने कार्यसूची पनि बैठकमा समावेश छ।
विधेयकहरू पारित गर्न तथा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने आजको बैठक संघीय संसद्को बजेट अधिवेशनको एक महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस