काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा मन्त्रालयमाथि विनियोजित बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले ऊर्जा क्षेत्रलाई मुलुक विकासको मेरुदण्डका रूपमा लिइएको बताए। उनले विद्युत् उत्पादन वृद्धिसँगै आवश्यक प्रसारण लाइन विस्तार गर्न १७ हजार ४४६ सर्किट किलोमिटर विभिन्न भोल्टेज स्तरका लाइन निर्माण गरिने जानकारी दिए। साथै, सब-स्टेसनहरूको क्षमता ४० हजार एमभिए पुर्याउने लक्ष्य रहेको उल्लेख गरे।
उनले कर्णाली, माथिल्लो कर्णाली, भेरी र जगदुल्ला जलविद्युत् आयोजनामा लगानी परिचालन तथा निर्माण कार्य अघि बढाउन सरकारले प्रतिबद्धता जनाइसकेको बताए। विशेषगरी जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का आह्वान भइसकेको र प्राप्त बोलपत्रहरूको मूल्याङ्कन भई आशयको सूचना जारी गरिएको जानकारी दिए।
बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक–निजी साझेदारी (PPP) अवधारणामा अघि बढाइने मन्त्री खड्काले स्पष्ट पारे।
उनले वर्षायाम सुरु भएसँगै विद्युत् उत्पादनमा वृद्धि भएको र प्रसारण लाइनमा अधिक विद्युत् प्रवाह हुँदा भार व्यवस्थापन चुनौती बन्ने भएकाले कहिलेकाहीँ विद्युत् लाइन काटिनु परेको उल्लेख गरे। ऊर्जा मन्त्रालयले दीर्घकालीन ऊर्जा सुरक्षाको लक्ष्यसहित योजना अघि बढाएको मन्त्री खड्काले बताए।
प्रतिक्रिया दिनुहोस