२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नागढुंगा–मुग्लिन सडक विस्तारको काम कति पुग्यो ? पहिलो खण्डमा ८५ प्रतिशत, तेस्रोमा मात्र ३२ प्रतिशत प्रगति

हालसम्म पहिलो खण्डको ८५ प्रतिशत, दोस्रो खण्डको ४३ प्रतिशत र तेस्रो खण्डको मात्र ३२ प्रतिशत भौतिक प्रगति भएको छ।



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ४५
  • चितवन, असार १९ – राजधानी काठमाडौँ छिर्ने र बाहिरिने प्रमुख नाका मानिने नागढुंगा–मुग्लिन सडक विस्तारको काम सुस्त गतिमा अघि बढिरहेको छ।

    तीन खण्डमा विभाजन गरिएको ९५ किलोमिटर लामो यो सडकको काम सन्तोषजनक छैन। हालसम्म पहिलो खण्डको ८५ प्रतिशत, दोस्रो खण्डको ४३ प्रतिशत र तेस्रो खण्डको मात्र ३२ प्रतिशत भौतिक प्रगति भएको छ।

    पहिलो खण्ड : नागढुंगा–नौबिसे (१२.२६ किमी)

    नागढुंगा सुरुङ मार्गदेखि नौबिसेसम्मको १२.२६ किलोमिटर सडकलाई पहिलो खण्ड मानिएको छ। जाङ्सु–सगुन जेभीले १ अर्ब ३० करोड रुपैयाँमा निर्माणको ठेक्का पाएको यो खण्डमा अहिले ८५ प्रतिशत भौतिक प्रगति भएको छ। पहिलो तहको कालोपत्रे सबै भागमा सकिएको छ भने दोस्रो तहको पनि आधा भागमा कालोपत्रे सम्पन्न भएको छ। बर्खापछि तेस्रो तहको कालोपत्रे थालिनेछ।

    नौबिसे र खत्रीपौवामा पर्ने दुईवटा पुलको स्ल्याब ढलान भइसकेको छ। स्थानीय अवरोधका कारण ढिलो भएको खानीखोला आकाशे पुल पनि अब बनाउन थालिएको छ, जुन अपांगमैत्री हुने जनाइएको छ।

    दोस्रो खण्ड : नौबिसे–मलेखु (४३.५४ किमी)

    जम्मा ४३ प्रतिशत प्रगति भएको दोस्रो खण्डको विस्तारको लागत ५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। जेडआईसीजी–शर्मा–लामा जेभीले ठेक्का पाएको यो खण्डमा १५ किमी सडकमा पहिलो तहको कालोपत्रे गरिएको छ।

    १३ पुलमध्ये ८ वटा साना पुल सञ्चालनमा आइसकेका छन् भने बाँकी ५ पुल निर्माणाधीन छन्। विद्युत पोल सार्ने काम भने अझै पूरा भएको छैन। कटिङका लागि रातको समयमा सडक बन्द गरी काम भइरहेको छ।

    तेस्रो खण्ड : मलेखु–मुग्लिन (३८.८६ किमी)

    सबैभन्दा ढिलो प्रगति भएको तेस्रो खण्डमा अहिलेसम्म ३२ प्रतिशत काम मात्र सम्पन्न भएको छ। शर्मा–जेडआईसीजी जेभीले ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का पाएको यो खण्डमा ८ किलोमिटर सडक चार लेनमा कालोपत्रे गरिएको छ।

    यस खण्डमा बजार क्षेत्रका लागि ४ देखि ६ लेन र अन्य क्षेत्रमा डेडिकेटेड २ लेन सडक बनाइँदैछ। ४ सय पोलमध्ये १०० पोल सार्ने काम बाँकी छ। ६ पुलमध्ये ४ को स्ल्याब ढलान भइसकेको छ।

    धादिङ र चितवन दुबै जिल्लामा पर्ने यो खण्डमा स्थानीय सरकारहरूसँग समन्वय गरी काम भइरहेको छ। भत्काउनुपर्ने ७७ घरमध्ये अधिकांशको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ।

    बर्खामा पहिरोका कारण सडक अबरुद्ध नहोस् भनेर मलेखु, हुदी र कुरिनटारमा १२ वटा JCB मेसिन स्ट्यान्डबाई राखिएको छ।

    क्लाइम्बिङ लेन: मालवाहक सवारीका लागि नौबिसेदेखि नागढुंगा र मलेखुबीच छुट्टै क्लाइम्बिङ लेन बनाइँदैछ।

    ४–६ लेन विस्तार: बजार क्षेत्रहरूमा ६ लेन, साना बजारमा ४ लेन, र अन्यत्र ३ लेन तथा २ लेनको योजना छ।

    विश्व बैंकको सहुलियत ऋण: पुरै परियोजना विश्व बैंकको सहुलियतपूर्ण ऋणमा विस्तार भइरहेको हो।

    यद्यपि काम अगाडि बढिरहेको भए पनि प्रगति अपेक्षाकृत सुस्त छ। म्याद पटक–पटक थपिँदा पनि केही खण्डमा समयमै काम सम्पन्न नहुने अवस्था देखिएको छ। निर्माण कम्पनीहरूले म्याद थपको माग गरिरहेका छन्। आयोजना सम्पन्न भएपछि राजधानीसहित मुलुकभर आवागमन सहज हुने विश्वास गरिएको छ।