काठमाडौं, असार २० - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोसिएको छ । उनलाई छानबिनका लागि प्रहरी मुख्यालय (हेडक्वाटर) बोलाइएको छ ।
सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको समर्थनमा नागरिकस्तरबाट हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ । सोही अभियानमा सई खड्काले हस्ताक्षर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको ध्यानाकर्षण भएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले खड्काको हेडक्वाटर तानिएको पुष्टि गरेका छन् । उनका अनुसार हस्ताक्षरसँग सम्बन्धित विषयबारे स्पष्ट जानकारी लिनका लागि उनलाई बोलाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै नागरिक हस्ताक्षर अभियान चलाएको छ । यस्तै अभियानमा सरकारी कर्मचारीको संलग्नता देखिएपछि प्रहरी प्रशासनले अनुशासनका सन्दर्भमा कदम चालेको हो ।
प्रहरी सेवा आचारसंहिताअनुसार कुनै पनि सरकारी कर्मचारीले राजनीतिक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न हुन नपाउने व्यवस्था छ । यही आधारमा सई खड्कामाथि छानबिन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस