२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रसुवागढीमा आएको बाढीबाट ५० जनाको सकुशल उद्धार, २३ जनालाई हेलिकप्टरमार्फत बचाइयो



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १७२
  • रसुवा, असार २४ – गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत आयोजना बाढीको चपेटामा परेपछि ५० जनाभन्दा बढी प्रभावित बनेका छन्। तीमध्ये २३ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको समन्वयमा हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।

    मंगलबार नेपाल–चीन सिमानास्थित लेन्डे खोलाबाट आएको बाढी भोटेकोशी हुँदै आयोजनास्थलमा पुगेपछि कामदारहरू जोखिममा परेका थिए। तत्कालै सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको थियो। सेनाको एनए–०३८ एमआई र इकुरेल हेलिकप्टरमार्फत उद्धार कार्य गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    उद्धार गरिएकामध्ये एक जना चिनियाँ नागरिक, १५ जना पुरुष र दुई जना महिला छन्। अन्य प्रभावितको पहिचान खुलाइएको छैन। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार अहिलेसम्म बाढीबाट प्रभावित ५० जनाको उद्धार भइसकेको छ।

    बाढीका कारण केही व्यक्ति सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि धादिङस्थित नं.–६ बाहिनी अड्डाबाट सेना गल्छी हुँदै त्रिशूली र रसुवास्थित श्रीनाथ गणको टोली स्याफ्रुवेशी इलाका तर्फ परिचालित गरिएको छ।

    सुरक्षाकर्मीहरू अझै सतर्क छन् र जोखिममा परेका अन्य व्यक्तिहरूको उद्धार कार्य जारी राखिएको छ। बाढीले रसुवागढी जलविद्युत आयोजना क्षेत्रमा ठूलो क्षति पुर्याएको अनुमान गरिएको छ।