६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अरनिको राजमार्ग पहिरोले अवरुद्ध, चीनसँग सडक सम्पर्क पूर्णरूपमा टुट्यो



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ९०
  • काभ्रेपलाञ्चोक, असार २६ - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकुमा बिहीबार बिहान आएको ठूलो पहिरोका कारण अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। बिहान ५ बजे पहिरो खस्न थालेपछि सडक माथिबाट पहिरो र तलबाट सडक भासिँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको हो।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार, सडक माथिबाट खसेको पहिरो र तलबाटको भासिएको भागले मार्ग पूर्ण अवरुद्ध बनाएको हो। "तलपट्टी माटो थेग्ने वाल नरहेका कारण तत्काल सडक खुलाउन कठिन भएको छ," उनले बताए। सडक खुलाउने प्रयासमा सडक विभागसँग समन्वय भइरहेको जानकारी पनि उनले दिएका छन्।

    सडक बन्द भएपछि तातोपानी नाका हुँदै काठमाडौं आउँदै गरेका मालबाहक कन्टेनर, यात्रुबाहक बस, निजी सवारी र एम्बुलेन्सहरु भन्सार क्षेत्रमै रोकिएका छन्। यो अवस्थाले आवश्यक सामग्री ढुवानी र यात्रु आवागमनमा ठूलो असर पुर्‍याएको छ।

    यता केरुङ नाकाबाट काठमाडौं ल्याइएका १२६ जना विदेशी पर्यटक कोदारी नाका हुँदै नेपाल प्रवेश गरेका थिए। तीमध्ये ७२ जनालाई हेलिकप्टरमार्फत र ६४ जनालाई बसमार्फत काठमाडौं पठाइएको प्रहरी प्रमुख कार्कीले जानकारी दिए।

    तर, अहिले कोदारी-तातोपानी मार्ग पनि क्षतिग्रस्त भएकाले केरुङ र कोदारी दुवै नाकाबाट चीनसँगको सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ। बुधबार चीनतर्फको बाढीले केरुङ नाकाको संरचनामा क्षति पुर्‍याएपछि ती पर्यटकहरूलाई वैकल्पिक रुपमा कोदारी नाका प्रयोग गरेर ल्याइएको थियो।

    हाल अवरुद्ध मार्ग खुलाउने प्रयास जारी छ भने सुरक्षा निकाय र सडक विभाग सतर्क भएर काममा खटिएको छ। स्थानीय प्रशासनले यात्रुहरुलाई सुरक्षित स्थानमै रोक्न र आवश्यक सेवाको व्यवस्था गर्न अपील गरेको छ।