काठमाडौं, असार २७ - प्रधानमन्त्री केपी शर्मा ओलीले युवायुवतीलाई २० वर्षको उमेरपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नु आजको आवश्यक भएको बताएका छन्।
शुक्रबार आयोजित विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रजनन क्षमताको उपयुक्त समयमा विवाह र सन्तान उत्पादन आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार जनसंख्या र विकासबीचको सन्तुलन नभए मानव जातिको अस्तित्व नै संकटमा पर्न सक्ने खतरा छ।
“म मेरा सन्तान छैनन् भनेर उपचार गराएँ, तर समयमै सन्तानको सोच गर्ने फुर्सद भएन,” उनले भने, “आजका युवालाई समयमै विवाह र सन्तान जन्माउन उत्साहित गरिनुपर्छ।”
प्रधानमन्त्री ओलीले सरकारले विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको स्मरण गराउँदै ३० वर्ष पुग्नुअघि तीन सन्तान जन्माइसक्ने सोच बनाउनु उपयुक्त हुने धारणा राखे। “४० कटेपछि रमाउने गीतमा मात्र नअल्मलिऊ,” उनले हाँस्दै भने।
उनले जनसंख्यालाई देश, समाज र धर्तीप्रति उत्तरदायित्वको रूपमा बुझ्नुपर्नेमा जोड दिए। “देश र मानव सभ्यताको भविष्य सुरक्षित राख्न जनसंख्याको सन्तुलित वृद्धि अपरिहार्य छ,” उनले स्पष्ट पारे।
शक्तिशाली राष्ट्रहरूप्रति संकेत गर्दै ओलीले आफ्नो स्वार्थका लागि मानिस मार्ने प्रवृत्तिले मानव अस्तित्व संकटमा पारिरहेको बताए। “एकातिर जनसंख्याबारे गोष्ठी र सेमिनार गर्छन्, अर्कोतिर आम विनाशको हतियार बनाएर मान्छे मार्छन्—यो दुर्दशा रोक्नुपर्छ,” उनले भने।
विकसित देशहरूमा समेत जनसंख्या ऋणात्मक अवस्थामा पुगेको चिन्ता व्यक्त गर्दै उनले सन्तान नपाउने प्रवृत्तिको गलत प्रचारप्रति पनि गुनासो गरे। “‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने भन्ने भनाइबाट डर देखाएर सन्तानै नपाउने प्रवृत्तिले उल्टै असर पारेको छ,” उनले तर्क गरे।
उनका अनुसार जनसंख्याको सन्तुलन र व्यवस्थापनका लागि राष्ट्रिय जनसंख्या नीतिको प्रभावकारी कार्यान्वयन अत्यावश्यक छ।
प्रतिक्रिया दिनुहोस