इनरुवा, असार २९ – सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा एक दम्पती घरभित्रै मृत अवस्थामा फेला परेका छन्। मृतकहरू ३५ वर्षीय सुकदेव शर्मा र उनकी अन्दाजी २३ वर्षीया पत्नी सवेता खातुन रहेका छन्।
प्रहरीका अनुसार आइतबार बिहान करिब ९ बजे स्थानीयहरूले उनीहरूलाई मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घरको अवस्था शंकास्पद देखिएको जनाएको छ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार सुकदेव शर्मा फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका थिए। उनको शरीर अर्धनग्न अवस्थामा रहेको बताइएको छ। अर्कोतर्फ, पत्नी सवेता खातुनको शव ओछ्यानमै सुतिरहेको अवस्थामा फेला परेको हो।
प्रहरीले घटनालाई अत्यन्तै रहस्यमय र शंकास्पद मानेर अनुसन्धान अघि बढाएको जनाएको छ। शवहरू पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा र छिमेकीहरू घटनाप्रति अचम्भित छन् भने परिवार र आफन्तजन पीडामा छन्। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन घर वरिपरिको बयान संकलन तथा अन्य प्रमाण संकलनको प्रक्रिया तीव्र बनाएको छ।
प्रतिक्रिया दिनुहोस