काठमाडौँ, असार ३१ – राजधानीका दुई प्रतिष्ठित फर्टिलिटी क्लिनिकहरू किशोरीहरूलाई लोभ लालच देखाएर डिम्ब संकलन गर्ने र निःसन्तान दम्पतीहरूलाई अत्यधिक शुल्कमा बिक्री गर्ने अवैध गतिविधिमा संलग्न रहेको खुलासा भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को अनुसन्धान अनुसार बबरमहलस्थित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगन्जस्थित एन्जेल फर्टिलिटी क्लिनिकले १८ वर्षमुनिका किशोरीहरूबाट डिम्ब संकलन गर्ने र कृत्रिम गर्भधारण (IVF) का नाममा ती डिम्बहरू निःसन्तान महिलालाई ट्रान्सफर गर्ने गरेका थिए।
CIB ले होप फर्टिलिटीमा संलग्न तीनजना चिकित्सक – डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, डा. मलिना चौधरी – सहित पाँचजनालाई पक्राउ गरेको छ। एजेन्टका रूपमा कार्यरत जस्टिना प्रधान र अलिसा ओली पनि पक्राउ परेका हुन्। यद्यपि, काठमाडौं जिल्ला अदालतको आदेशपछि उनीहरूलाई हाजिर जमानीमा छाडिएको छ।
एन्जेल फर्टिलिटी क्लिनिकमा संलग्न एकजना व्यक्तिलाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
प्रहरी अनुसन्धान अनुसार एजेन्ट जस्टिना प्रधानले मासिक धर्मको तेस्रो दिनमा किशोरीहरूलाई सम्पर्कमा ल्याएर बबरमहलस्थित क्लिनिकमा १० दिनसम्म राख्ने गर्थिन्। डिम्ब निकाल्ने दिनसम्म किशोरीहरूलाई नाइटो वरिपरि १० वटा सिरिन्ज लगाइन्थ्यो र १३ औँ दिनमा बेहोस बनाएर डिम्ब निकालिन्थ्यो।
यस कामका लागि किशोरीहरूलाई १५ हजार रूपैयाँसम्म दिइन्थ्यो भने एजेन्टले ४० हजार लिने गरेको प्रमाणित भएको छ। उता, क्लिनिकहरूले निःसन्तान दम्पतीहरूबाट एक जोडी डिम्बका लागि २० लाख रूपैयाँसम्म असुलेको खुलेको छ।
डिम्ब संकलनपछि किशोरीहरूमा दुब्लाउने, खाने मन नलाग्ने लगायत समस्या देखिएपछि केही अभिभावकले प्रहरीमा उजुरी दिएका थिए। हालसम्म दुई वटा उजुरी दर्ता भइसकेको छ भने प्रहरी बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ।
यस घटनाले किशोरीहरूकै स्वास्थ्य, सुरक्षा र गरिमा माथि गम्भीर प्रश्न उठाएको छ। मानव अधिकारकर्मीहरूले सरकारसँग तत्काल कडा अनुसन्धान र सम्बन्धित क्लिनिकहरूको इजाजत खारेज गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस