जनकपुरधाम, असार ३२ - मधेश प्रदेशका विभिन्न जिल्लामा परेको भीषण सुख्खा र त्यसबाट उत्पन्न भएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले ठोस कदम चालेको छ। बुधवार बिहानदेखि वारुणयन्त्र (दमकल) प्रयोग गरी पानी वितरण सुरु गरिएको छ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार, प्रदेश सरकारसँग भएका ८ वटा वारुणयन्त्र खानेपानीको चरम अभाव भएको क्षेत्रमा खटाइएको हो। एक पटकमा ५ हजार लिटर क्षमताको ती वारुणयन्त्रहरूले ४० हजार लिटर पानी लिएर वितरणमा लागेका छन्।
मुख्यमन्त्री सतिश कुमार सिंहका अनुसार, "खानेपानीको समस्याले ग्रस्त नागरिकलाई राहत दिन हामी २४ घण्टा सक्रिय छौं। प्रदेशको स्रोत र साधनको अधिकतम प्रयोग गरेर काम भइरहेको छ। संघीय सरकार र स्थानीय तहसँग पनि समन्वय गरिरहेका छौं।"
खानेपानी बोक्ने वारुणयन्त्रहरूको व्यवस्थापन र सञ्चालनको जिम्मा नेपाली सेनालाई दिइएको छ। यसअघि वन विभागका तीन वटा ट्यांकर पानी आपूर्ति गर्न प्रयोग गरिएका थिए। अहिले सेनाबाट थप सात वटा ट्यांकर र एक वारुणयन्त्र परिचालनको तयारीमा छन्।
मुख्यमन्त्री सिंहले धान रोपाइँ प्रभावित हुने अवस्था देखिएकाले, आगामी दिनमा खाद्यान्न संकट आउने खतरा औँल्याउँदै सम्बन्धित मन्त्रालयहरूलाई तत्काल योजना बनाउन निर्देशन दिएका छन्। "अहिलेबाटै तयारी गरौं, समस्या कहाँ छ, मलाई बताउनुहोस्। अब हामी नागरिकलाई संकटबाट जोगाउनेतर्फ गम्भीर भएर लाग्नैपर्छ," उनले भने।
प्रदेशका १३६ वटै पालिका सुख्खा र पानीको समस्याबाट प्रभावित रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले दातृ निकायहरूलाई सहयोगको आह्वान गरेका छन्। "यो वातावरणीय असन्तुलनको संकटको बेला हो। खुला हृदयले सहयोग गरिदिनुहोस्," उनले दाताहरूलाई आग्रह गरे।
सिंहले सुख्खा र खानेपानी संकट समाधानका लागि भइरहेका सबै प्रयासको दैनिक प्रगति विवरण उपलब्ध गराउन पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस