सप्तरी, साउन ९ - सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–४ कुशहा निवासी शिक्षक रामकृष्ण राय मृत अवस्थामा फेला परेका छन्। शुक्रवार बिहान उनी नहरको छेउमा निर्जीव अवस्थामा भेटिएका हुन्।
प्राप्त जानकारी अनुसार राय बिहीबार साँझदेखि सम्पर्कविहीन थिए। खोजतलासको क्रममा आज बिहान उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतम केसीले जानकारी दिए। शव नजिकै उनको साइकल र किटनासक विषादीको बोतल समेत फेला परेको छ। तर उनको शरीरमा कुनै चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ।
वडा नम्बर ५ स्थित नेशनल पब्लिक स्कुलमा शिक्षण पेशामा संलग्न राय विगत केही समयदेखि सामान्य व्यवहारमै देखिएका थिए। वडा नम्बर ४ का वडाध्यक्ष देबेन्द्र यादवका अनुसार उनी सरल र जिम्मेवार शिक्षकका रूपमा चिनिन्थे।
मृत्युको कारण खुल्न बाँकी रहेकाले प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेको जनाएको छ। स्थानीयवासीले घटनाप्रति दुःख व्यक्त गर्दै सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस