६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुलिङ पिरियड प्रकरण : संसद महासचिव पाण्डेयद्वारा प्रधानमन्त्रीसँग भेटको पुष्टि



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या १५४
  • काठमाडौं, साउन ११ - संघीय निजामती सेवा विधेयकबाट हटाइएको "कुलिङ पिरियड" को व्यवस्थासम्बन्धी विवाद चुलिँदै गएको छ। यसबीच संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको पुष्टि गरेका छन्।

    संसदको विशेष छानबिन समितिले उनलाई बुधबार बयानका लागि बोलाएको थियो। समितिसँगको गोप्य छलफलमा पाण्डेयले प्रधानमन्त्रीसँग भेट भएको स्वीकार गर्दै भने, “मुख्य सचिव एकनारायण अर्यालले फोन गरेर समय मिलाइदिन भनेपछि मैले सहजीकरण मात्रै गरेको हुँ।”

    उनले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसँग पनि मुख्य सचिवकै आग्रहमा भेट गराइएको जानकारी दिएका छन्।

    छानबिन समितिका सदस्यहरूले भने पाण्डेयलाई सोधेका थिए— संसद्को अधिकार क्षेत्रभित्रको विषयमा कार्यपालिका पक्षबाट लविङ भए पनि किन प्रतिरोध नगरेको? पाण्डेयले जवाफमा आफ्नो पदीय भूमिकाभित्रै रहेर काम गरेको दाबी गरे। "मैले निर्णय गरेको होइन, केवल समन्वय गरिदिएको मात्र हुँ," स्रोतले पाण्डेयको भनाइ उद्धृत गर्दै जनाएको छ।

    सांसदहरूले पाण्डेयलाई प्रधानमन्त्री ओलीसँग मात्र होइन, कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट्नुभएको हो कि भनेर पनि प्रश्न गरे। तर उनले देउवासँग भेट नभएको स्पष्ट पारे।

    छानबिन समितिका सदस्यहरूले पाण्डेयमाथि गम्भीर प्रश्नहरू उठाएका छन् — संसदको निर्णय प्रक्रियामा हस्तक्षेप हुन सक्ने भेटघाट किन आवश्यक भयो? कार्यपालिका र शीर्ष नेताहरूसँगको समन्वयले निष्पक्षता गुमाएको होइन?

    महासचिव पाण्डेयले भने आफूप्रति पूर्वाग्रहका आधारमा प्रश्नहरू उठाइएको भन्दै असन्तुष्टि जनाए।

    यसरी संघीय निजामती सेवा विधेयकमा भएको संशोधन र त्यसको प्रक्रियामा भएका ‘गोप्य भेटघाट’ सार्वजनिक हुँदै जाँदा संसदको आन्तरिक स्वायत्ततामाथि नै प्रश्न उठ्न थालेको छ। छानबिन समितिले निकट भविष्यमा थप विवरण सार्वजनिक गर्ने जनाइएको छ।