भक्तपुर, साउन २५ - अरनिको राजमार्गको वैकल्पिक मार्ग मानिने ‘च्यामासिंह–ताथली–नाला’ सडकको जीर्ण अवस्थाप्रति बेवास्ता भएको भन्दै स्थानीयले अनौठो शैलीमा विरोध जनाएका छन्। उनीहरूले सडक मर्मत र स्तरोन्नतिको मागसहित सडकमै केराको बोट रोपेर साङ्केतिक विरोध गरेका हुन्।
बनेपा हुँदै नाला र ताथली जोड्ने यो मार्गमा वर्षौंदेखि मर्मत नभएकाले यातायातमा समस्या बढ्दै गएको छ। चाँगुनारायण नगरपालिका–९ को ताथलीस्थित रामसीता मन्दिर वरपर नगरपालिकाले सुरु गरेको ढलान कार्य अधुरै छाडिएको र यसले दुर्घटनाको जोखिम बढाएको स्थानीयले बताएका छन्।
दक्षिणकाली युवा समूहका अध्यक्ष सुरेशराज गिरीका अनुसार समूहले हस्ताक्षर अभियान चलाउँदै ‘ब्यानर’ टाँसी जनप्रतिनिधिलाई समस्या अवगत गराए पनि समाधान नभएपछि केराको बोट रोपेर विरोधको नयाँ शैली अपनाइएको हो।
हाल अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–जगाती–साँगा–धुलिखेल सडक छ लेनमा विस्तार भइरहेकाले वैकल्पिक मार्गमा दैनिक हजारौँ सवारीको चाप बढेको छ। तर, ताथलीको भञ्याङमा सडक भासिन लागेको, रामसीता मन्दिर वरपरको अधुरो सडक बिग्रँदै गएको र यसले ब्रम्हायानी चोक, तिला पुल, भतिडोल, फैढोका, पण्डित पधेरो, गोठालेचौर, तल्लो र माथिल्लो छापलगायतका बस्तीलाई प्रभावित पारेको गिरीले बताए।
यस मार्गको शिलान्यास तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले वि.सं. २०१६ मा गरेका थिए। स्थानीयले यसको नाम ‘गणेशमान मार्ग’ राखेका छन्।
प्रतिक्रिया दिनुहोस