काठमाडौं, भदौ २ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा फैलिरहेको जनआक्रोश र असन्तुष्टिलाई गम्भीर रुपमा लिन आवश्यक भएको बताएका छन् । उनले हालको परिस्थिति असन्तुष्टिको आगोमा मट्टीतेल छर्किएझैँ भयावह बनाइएको टिप्पणी गरेका छन् ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रममा बोल्दै थापाले जनभावनाको सही सम्बोधन नगरे वर्तमान अवस्था थप बिग्रिने चेतावनी दिए । “समाजभित्र अहिले गहिरो असन्तुष्टि छ । जता हेरे पनि रिस र आक्रोश छताछुल्ल देखिन्छ,” उनले भने, “तर त्यो असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा केही तत्वले त्यसमा मट्टीतेल र पेट्रोल छर्केर आगो सल्काउने काम गरिरहेका छन् ।”
थापाले यस्तो आगो सल्काउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरेर प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए । तर, केवल दोषी खोजेर मात्र समस्याको समाधान नहुने भन्दै उनले जनताका समस्याको जडमा पुग्नुपर्ने सुझाव दिए ।
“असन्तुष्टिको आगो किन बलिरहेको छ भन्ने बुझ्नुपर्छ । त्यो बुझेर समाधान गर्न सक्ने क्षमता कांग्रेससँग छ,” थापाले प्रष्ट पारे । उनले परिणाममुखी काम गरेर मात्र समाजमा फैलिएको निराशा र आक्रोश मेटाउन सकिने उल्लेख गरे ।
थापाको भनाइमा, वर्तमान राजनीतिक परिस्थिति चुनौतीपूर्ण भए पनि जनताका भावनालाई सम्बोधन गर्दै आगो निभाउने जिम्मेवारी कांग्रेसले लिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस