बुटवल, भदौ ६ - रुपन्देहीमा फैलिएको नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा प्रहरीले थप एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनलाई चितवनबाट पक्राउ गरी बुटवल ल्याइएको हो। कँडेल रास्वपाको बागमती प्रदेश समिति सल्लाहकार समेत रहेका छन्।
प्रहरीका डिएसपी सुरज कार्कीका अनुसार कँडेलले चितवनको लायन्सचोकमा कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श संस्था सञ्चालन गर्दै आएका थिए।
यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए। यादवसँगै त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न संस्थाका ३ वटा नक्कली प्रमाणपत्र, ५ वटा स्ट्याम्प प्याड, नक्कली होलोग्राम र स्टिकरहरू बरामद गरिएको प्रहरीले जनाएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा यादवले कँडेलकै लागि काम गरेको स्वीकार गरेका थिए। सोही आधारमा प्रहरीले कँडेललाई नियन्त्रणमा लिएको हो।
हाल प्रहरी टोलीले यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र पारेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस