१२ असार २०८३ शुक्रबार | 26 Jun 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रविलाई मनिष झाको प्रस्ताव– ‘महामन्त्री दिनुस्, मन्त्रीको दाबी गर्दिनँ’



  • अञ्जना ढकाल
  • ३ घण्टा अघि
  • पाठक संख्या ५५
  • काठमाडौं, असार १२ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र समूहगत राजनीति हुन नहुने बताएका छन्। उनले सभापति रवि लामिछानेकै निर्देशन विपरीत गुटगत गतिविधि भइरहेको देखिए त्यसले पार्टीलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

    महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले सभापति लामिछानेले प्रतिनिधिहरूलाई समूहगत राजनीतिक अभ्यास नगर्न आग्रह गरेको स्मरण गराउँदै त्यसविपरीत हुने गतिविधिले नेतृत्वको छविमाथि नै प्रश्न उठ्न सक्ने बताए।

    उनले आफू गुटबन्दीको पक्षमा नरहेको स्पष्ट पार्दै नेतृत्वसँग सहमतिका लागि छलफल भएको जानकारी दिए। सहमति भनेको सधैं त्याग मात्र नभई आवश्यकताअनुसार प्राप्ति पनि हुने भएकाले आफूले आफ्नो धारणा स्पष्ट रूपमा राखेको उनको भनाइ थियो।

    झाले सभापति रवि लामिछाने र उपसभापतिसँगको छलफलमा आफूलाई मन्त्री बन्ने कुनै चाहना नभएको बताएको खुलासा गरे। उनले पार्टीको संगठनात्मक र व्यवस्थापकीय सुधार आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै महामन्त्रीको जिम्मेवारी पाए पाँच वर्षसम्म कुनै पनि मन्त्रालयमा दाबी नगर्ने प्रतिबद्धता व्यक्त गरेको बताए।

    पार्टी स्थापनाकालदेखि नै सक्रिय योगदान दिँदै आएको उल्लेख गर्दै प्रतिनिधिहरूले आफ्नो कामको मूल्यांकन गरेर समर्थन गर्ने विश्वास उनले व्यक्त गरे।

    यसैबीच, महामन्त्रीका अर्का उम्मेदवार विपिन आचार्यको पक्षमा संस्थापन समूह एकजुट भएको भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै झाले पार्टीभित्र गुटबन्दी गराउने प्रयास भए नेतृत्वले त्यसमा कडाइका साथ कारबाही गर्नुपर्ने माग पनि गरेका छन्।