चितवन, असार १२ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा लम्बिँदै शुक्रबार छैटौं दिनमा प्रवेश गरेको छ। नेतृत्व चयन प्रक्रिया ढिलाइ भएपछि आज पदाधिकारीहरूको टुंगो लगाएर महाधिवेशन समापन गर्ने तयारी गरिएको छ।
असार ७ गतेदेखि चितवनमा सुरु भएको महाधिवेशन तीन दिनमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर प्रतिनिधि छनोटमा देखिएको विवाद, केन्द्रीय सदस्यको निर्वाचन तथा पदाधिकारी चयन प्रक्रियामा भएको ढिलाइका कारण कार्यक्रम लम्बिएको हो।
महाधिवेशन अपेक्षाभन्दा बढी समयसम्म तानिएपछि व्यवस्थापन पक्षलाई खर्च व्यवस्थापनमा कठिनाइ परेको जनाएको छ। सोही कारण शुक्रबार प्रतिनिधिहरूका लागि खानाको व्यवस्था नगरिने जानकारी दिइएको छ। बिहीबार राति नै व्यवस्थापनले बिहानको चियाको मात्र व्यवस्था हुने सूचना दिएको थियो।
यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। यद्यपि अन्य पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिएको छैन।
बिहीबार केही असन्तुष्टिका बीच केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो। पार्टी विधानअनुसार सभापति र केन्द्रीय सदस्य चयनपछि मात्रै पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ।
महाधिवेशन लम्बिँदै जाँदा केही प्रतिनिधि घर फर्किन थालेपछि बाँकी पदाधिकारीहरूलाई सर्वसम्मत रूपमा चयन गर्दै शुक्रबार नै महाधिवेशन समापन गर्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस