रौतहट, भदौ ९ - रौतहटमा सुटकेसभित्र महिला मृत अवस्थामा भेटिएको घटनाले रहस्य गहिरिएको छ । शनिबार बेलुकी गौर बजार जाने भन्दै घर निस्केकी २६ वर्षीया रुबीकुमारी साहको शव आइतबार बिहान सडक छेउ फेला परेको हो ।
बजार जाँदै गर्दा उनले आमालाई फोन गरी ‘केही सामान ल्याउने हो ?’ भनेर सोधेकी थिइन् । आमाले ‘सबै सामान छ’ भनेर जवाफ दिएकी थिइन् । यही संवाद आमा–छोरीबीचको अन्तिम वार्ता बनेको छ ।
गौर नगरपालिका–९ मुडवालगेटमा राति शंकास्पद अवस्थामा राखिएको ठूलो निलो सुटकेस प्रहरीलाई स्थानीयले देखाएका थिए । बिहान खोल्दा त्यसभित्र रुबीको शव हातखुट्टा खुम्च्याएर प्याक गरिएको अवस्थामा भेटियो । नाकमा मात्र रगत देखिएको र शरीरमा अन्य गम्भीर चोटपटक नभएको प्रहरीले जनाएको छ ।
घटनास्थल मृतकको डेराबाट करिब पाँच किलोमिटर टाढा र नेपाल–भारत सीमासँग नजिक छ । प्रहरीले भारतमै हत्या गरी नेपालमा शव फालिएको हुनसक्ने आशंका गरेको छ । रुबीको विवाह पाँच वर्षअघि भारतको मुजफ्फरपुरका शिवसागर साहसँग भएको थियो ।
घटनास्थलबाट रुबीले प्रयोग गर्ने मोबाइल भने फेला परेको छैन । हत्यापछि मोबाइल लैजाइएको वा नष्ट गरिएको हुनसक्ने प्रहरीको भनाइ छ । मोबाइलको अन्तिम लोकेशन गौर आसपासमा देखिएको थियो ।
प्रहरीले वरपरका सीसीटीभी फुटेज संकलन गर्दै अनुसन्धान अघि बढाएको छ । सुटकेसको स्रोत पत्ता लगाउने काममा समेत टोली जुटेको छ । मधेश प्रदेश प्रहरीका डीआईजी उमाप्रसाद चर्तुवेदीले घटनालाई उच्च प्राथमिकतामा लिएर बहुआयामिक कोणबाट अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस