काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासंघले सोमबारदेखि चरणबद्ध आन्दोलन थालेको छ । आन्दोलनको सुरुवातमा महासंघले प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख राजनीतिक दलका सचेतकलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले संसद्मा हाल प्रस्तुत गरिएको शिक्षा विधेयकले शिक्षकको अधिकार, सेवा–सुविधा र पेशागत स्थायित्वमा प्रहार गरेको आरोप लगाएका छन्। उनले गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलनपछि भएको ९ बुँदे सहमति विधेयकमा समेटिनु पर्नेमा सरकार पछि हटेको दाबी गरेका छन्।
महासंघले यसअघि २०७५, २०७८, २०८० र २०८१/८२ मा भएका सहमति समेत कार्यान्वयन नभएको गुनासो गर्दै फेरि सडकमा उत्रिएको हो। महासंघले अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति, आवधिक बढुवा, म्याद सकिएका अध्यापन अनुमति पत्र नवीकरण, विद्यालय कर्मचारीको तलब–पद समायोजन, बालकक्षा शिक्षकको सेवा सुनिश्चितता, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकलाई उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण नगर्न माग गरेको छ।
प्रतिक्रिया दिनुहोस