रौतहट, भदौ ११ - रौतहटको गौरमा सुटकेसभित्र फेला परेकी २६ वर्षीया रुबी साहको मृत्युबारे देशभर चर्चा भइरहेका बेला घटनामा संलग्न भनिएका लक्ष्मण पासवान आफैंले भिडियोमार्फत अपराध स्वीकार गरेका छन् ।
फेसबुकमा पोस्ट गरिएको भिडियोमा उनले रुबीलाई आफैंले हत्या गरेको स्वीकार गर्दै अपराधपछिको मानसिक तनाव र आत्मग्लानी प्रकट गरेका छन् । “रुबी बिना बाँचेर के गर्नु, जेल जानु भन्दा मृत्यु रोजेँ,” उनको भनाइ थियो ।
स्कुले जीवनदेखि सुरु भएको प्रेम सम्बन्ध विवाहसम्म पुगेको तर गरिबी, पारिवारिक दबाब र असन्तुष्टि नै त्रासदीमा परिणत भएको उनको स्वीकारोक्तिबाट प्रस्ट हुन्छ ।
गत शनिबार गौर–सिरसिया सडकखण्डमा सुटकेसभित्र रुबीको शव भेटिएपछि हत्या प्रकरणको रहस्य खुलेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा रुबीलाई गौरकै घरमा हत्या गरी शव सडकमा फ्यालिएको निष्कर्ष निकालेको छ ।
बुधबार बिहान लक्ष्मण पासवान आफ्नै शरीरमा आगो लगाएर नहर किनारमा फेला परे । प्रहरी नियन्त्रणमा रहेका उनी अहिले उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस