२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पशुपतिमा शवको हड्डी किनबेच प्रकरण: ४ जना विरुद्ध मुद्दा दर्ता



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १९६
  • काठमाडौं, भदौ १२ – पशुपति आर्यघाटमा जलिरहेको शवको हड्डी निकालेर बिक्री गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

    मुद्दा दर्ता हुनेमध्ये सर्लाहीको लालबन्दी–२ का ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद (जीवनाथ) ढकाल, उदयपुरको कटारी–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको वलानबिहुल–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

    पक्राउ परेका चार जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा धर्मसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो। न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा उनीहरूको बयान जारी छ। बयान सकिएपछि थुनछेकको बहस हुनेछ र त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने वा धरौटीमा छोड्ने निर्णय हुनेछ।

    प्रहरी अनुसन्धानअनुसार, राम शाहीको मृत्युपछि २३ साउनमा पशुपतिमा सद्गद गर्न जाँदा आर्यघाट सेवा केन्द्रका जिवनाथ ढकाल र उनका सहयोगी विनायक मैनाली कार्यमा खटिएका थिए। आधा जलेको अवस्थामा रहेको शवको टाउकोको हड्डी जिवनाथले निकालेर विनायकलाई दिएका थिए। विनायकले उक्त हड्डी कपुरको बट्टामा राखेर रामनन्दन र मिश्रीलाललाई दिएका थिए। यसरी उनीहरूले हड्डी बिक्री गरेको आरोप छ।

    मुलुकी फौजदारी संहिताअन्तर्गत दफा १५७ (१) अनुसार धर्मसम्बन्धी रीतिमा जानाजानी बाधा पुर्‍याउने कसुर गरेको भन्दै रामनन्दन, जिवनाथ र विनायकविरुद्ध मुद्दा दर्ता भएको छ। दोषी ठहरिएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्नेछ। मिश्रीलाललाई सह–दोषीको रुपमा मुद्दा दर्ता गरिएको छ र मुख्य दोषीको आधा सजाय हुने व्यवस्था छ।